Saturday, December 3, 2011

'कौन बनेगा करोडपति'का नेपाली सम्पादक

दीपेन्द्र लामा, मुम्बई, मङ्सिर १६- बाइस तले भवन लोटस बिजनेस पार्कको छैटौं तलामा भेटिँदा उनी 'कौन बनेगा करोडपति'को पोस्ट प्रोडक्सनमा व्यस्त थिए। अमिताभ बच्चनले सवालजवाफ गरेका दृश्यलाई छरितो बनाउन कम्प्युटरमा घोत्लिने उनलाई कम्पनीका सहकर्मीहरुले टिआर भनेर बोलाउँछन्। टिआर अर्थात् तुलसी गौडेल 'कौन बनेगा करोडपछि'का आठ सम्पादकमध्ये एक हुन्।
अनिल अम्बानीको बिग सिनर्जी प्रोडक्सनको सम्पादन समूहका जागिरे हुन् उनी। कम्पनीले निर्माण गरेका र जिम्मा लिएका जुनसुकै काममा उनी दृश्य सम्पादन गर्छन्। केबिसीको निर्माण बिग सिनर्जीले गरेको हो।
स्याङजाको गोरेटोमा हुर्किएका तुलसी अहिले बलिउडको मुख्य 'गल्ली'मै हिँडिरहेका छन्। अन्धेरी वेस्टको लिंक रोडस्थित लोटस बिजनेस पार्क त्यही भवन हो, जहाँ चारवटा फ्ल्याटमा अभिनेता ऋतिक रोशनको कार्यालय छ। रिलायन्स ग्रुपको बिग पिक्चर्स्ले ऋतिकको फिल्म 'काइट्स'को वितरण गरेको थियो।
स्याङ्जादेखि मुम्बईसम्म तुलसीको यात्रा घुमाउरो रहयो। उनको लक्ष्य ६ वर्षअघिसम्म होटल म्यानेजमेन्टमा जम्ने थियो। जिल्लामा केही समय पत्रकारिता गरेपछि उनी सन् २००४ मा होटल म्यानेजमेन्ट पढ्न साइप्रस हिँडेका थिए। तर, दलालले दुबई र थाइल्यान्डमै अल्मलाई सात लाख ठगेर बेपत्ता भए। ठगिएर गाउँ फर्किने हिम्मत उनलाई भएन। हानिए मुम्बई।
साइप्रसमा सैद्धान्तिक शिक्षा लिन नपाएको झोकमा उनले मुम्बईमा प्राक्टिकल करियर सुरु गरे, एउटा इन्डियन रेस्टुरेन्टमा क्लिनर ब्वाइको रूपमा। उनको गाउँको एउटा मान्छे गोरेगाउँको उक्त रेस्टुरेन्टमा भान्छे थिए। त्यसैले उनको बन्दोबस्त भएको थियो।१७ सय भारु तलबमा टेबुल पुछ्ने काम उनलाई बाध्यताले 'रमाइलै' लाग्यो।
सफासुग्घरी बन्ने जागिर पाएको एक हप्तापछि मालिकले उनलाई 'पढेको मान्छे रहेछौ' भन्दै किचन सुपरभाइजरमा प्रोमोसन गरिदिए। 'त्यो पदको काम के हो, सुरुमा थाहा थिएन,' तुलसीले भने, 'पछि पो थाहा भो, वेटरले अर्डर लिएको कागज किचनको ‰यालमा बुझाइदिनु पर्ने रहेछ।'
तर, त्यो काममा उनी धेरै अल्भि्कनु परेन। मुम्बईमा छापिने पत्रिका 'नेपाल न्युज' र 'नेपाल सन्देश'बाट उनलाई कामको प्रस्ताव आयो। उनको रोजाइमा 'नेपाल सन्देश' साप्ताहिक पर्‍यो, जहाँ उनले ६ महिना लगातार काम गरे।
पत्रिकाको जागिरबाट पैसा कमाउन नसकेपछि उनले मनोरञ्जन दुनियाँमा हाम फाल्ने हिम्मत गरे। पुराना कलाकार धीरज कुमारको कम्पनी क्रियटिभ आईका साउन्ड रिकर्डिस्ट नेपालका सन्तकुमार पाल्पाली थिए। उनकै भनसुनमा तुलसीले कम्पनीको सिरियल 'रुबी डुबी हबदब'को निर्देशन समूहमा बिना पारिश्रमिक 'ले म्यान'को काम थाले। सहारा वानमा प्रसारण हुने उक्त सिरियलमा उनले तीनचार महिना अनुभव बटुले।
त्यसपछि सोनाली बेन्द्रेको कम्पनी रोज मुभिजको सिरियल 'गन्स एन्ड रोजेज'मा उनले ६ हजार मासिकमा चौथो सहायक निर्देशकको जिम्मेवारी पाए। सिरियलका नेपाली मुख्य सहायक निर्देशक लोकनाथ पाण्डेको सदासयले उनको बढुवा भएको थियो। सिरियल स्टार वानमा प्रसारण हुन्थ्यो।
युटिभीको सिरियल 'हिरो'मा उनले थप खुड्किलो चढे र दोस्रो सहायक निर्देशक बने। केही महिनामा सिरियल सकिएपछि उनी खाली हात बस्नुपर्‍यो। त्यो अवधिमा उनलाई बालाजी फिल्मस्का पोस्ट प्रोडक्सन हेड रविजी भट्टराईले सम्पादन सिक्ने अवसर जुटाइदिए। बालाजीको सिरियल 'के स्ट्रिट पाली हिल' सिरियलमा काम गर्दै सम्पादन सिके उनले। ३-४ महिना काम सिक्दा उनले पत्रिकाको जागिरबाट गुजारा चलाए।
केही महिना सम्पादनमा हात बसेपछि उनी फेरि फर्किए सोनालीको कम्पनी रोज मुभिजमा। सन् २००७ मा उनले त्यहाँ मासिक ६ हजारको सहायक सम्पादकको जागिर पाए। 'टि्वंकल ब्युटिपार्लर', 'रिमिक्स' र 'इन्डिया कलिङ' सिरियलमा उनी सहायक सम्पादक थिए।
लगत्तै अर्को एक कम्पनीको 'जब लभ हुवा' सिरियलमा अनलाइन सम्पादक र मिक्सरको काम उनले पाए। निक च्यानलको 'द मुन्नाभाई शो' र जुम टिभीको 'पपकर्न न्युज'मा समेत केही महिना उनको जिम्मेवारी सहायक सम्पादकको थियो।
सोनीबाट सन् २००८ मा प्रसारण भएको 'आइडिया लाइफ बन जाए'बाट 'लाइफ बनाउने'मा उनी पनि एक थिए। त्यही कार्यक्रमबाट उनले स्वतन्त्र सम्पादकको पहिचान बनाउन पाए। उनको तलब मासिक २० हजार भारु थियो। त्यसपछि उनले विश्राम लिनु परेन। कमेडी सर्कस, झुम इन्डिया झुम, त्रे्कजी किया रे, बाथरुम सिंगर जस्ता टिभी कार्यक्रममा व्यस्त भए।
यो बीचमा बालाजी प्रोडक्सनले पनि उनलाई जागिर दियो। बालाजीले बनाएका 'कौन जितेगा बलिउड का टिकट' र 'कभी कभी प्यार कभी कभी यार' रियालिटी शोको सम्पादन उनले गरेका थिए। 'जहाँ काम सिकियो त्यहीँ जागिर पाउँदा निकै खुसी लागेको थियो,' लोटस पार्कको पोडियमबाट नजिकै रहेको बालाजी फिल्मस्को भवनतिर आँखा तन्काउँदै उनले भने, 'म योग्य सम्पादक हुँ भन्ने प्रमाण थियो त्यो जिम्मेवारी।'
सन् २००९ मा उनको कमाइ निकै आकर्षक रहयो। रियल च्यानलका लागि बनाइएको 'सरकार की दुनियाँ' कार्यक्रमको सुटिङ र सम्पादन गर्न उनी पाँच महिना मासिक ६५ हजार लिई कर्नाटकमै बसे। सम्पादन पनि राम्रो कमाइ गर्ने पेशा हो भन्ने उनलाई लाग्दै गयो।
डान्स प्रिमियर लिग, राज पिछले जन्म का, किचन च्याम्पियन, ड्रिम राइडर, गिनिज वर्ल्ड रेकर्डस्, मा एक्सचेन्ज जस्ता रियालिटी शोसँग उनको नाम जोडियो। 'यी काम गर्दै जाँदा हामी १० जना सम्पादकको एउटा समूह बन्यो,' तुलसीले अवगत गराए, 'यो समूह बिग सिनर्जीका मालिक सिद्धार्थ वासुले स्थापना गर्नुभएको हो।' अहिले तुलसीको आम्दानी मासिक एक लाखको हाराहारीमा उक्लिएको छ।
'मेकिङ अफ रा वन'मा केही दिन काम गरेका उनी केही हप्तापछि 'झलक दिखला जा'को सम्पादनमा लाग्नेछन् भने त्यसपछि 'कौन बनेगा करोडपति'को छैटौं सिजन सुरु हुने पक्का भइसकेको छ। यसअघि 'मेकिङ अफ राजनीति'मा पनि उनको सम्पादन थियो।
स्याङ्जाको पकवादी गाविसमा जन्मिएका तुलसीलाई हिन्दी भाषा आउँदैनथ्यो। 'हिन्दी फिल्म वा कार्यक्रम केही पनि नहेरेको म गाउँको मान्छे, कहाँ हिन्दी आउँथ्यो र,' बताउने उनले मुम्बई पुगेरै हिन्दी सिकेका हुन्। मुम्बईमा होटलको काम गरेको कुरा लुकाउँदै उनी सम्पादक बनेपछि मात्र गाउँ फर्के।
आम्दानी भए पनि उनलाई अहिलेको जीवनशैली पूरै मेकानिकल लाग्छ। 'सबै एउटा रुटिनमा चल्छ,' उनको योजना छ, 'क्रियटिभ काम गर्ने पछिको योजना छ, त्यो भनेको फिल्म निर्देशन नै हो।' तर, त्योभन्दा अघि नेपालमा केही व्यवसायमा हात हाल्ने चाहना छ। मलाडस्थित इनअर्बिट मलको म्याकडोनाल्डमा आइसक्रिम खाँदै उनले भने, 'तर त्यसो गर्न ठन्डा दिमागले सोच्नुपर्छ।'
Ngawang Tenji Sherpa : Source 

No comments:

Post a Comment